काठमाडौं। शिक्षामन्त्री रामचन्द्र कुशवाहले जिल्ला शिक्षा अधिकारीहरूको सरुवा गर्ने आधार वरिष्ठता र कार्यक्षमता होइन, घूसको थैलीलाई बनाएका छन्। उनले तराई–मधेश लोकतान्त्रिक पार्टीको नाममा जिल्ला शिक्षा अधिकारी र मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयमा थमौती हुन चाहने र राम्रो स्थानमा सरुवा हुन चाहनेहरूसँग लाखौं घूस असुली चार करोडभन्दा बढी संकलन गरेको गुनासो पार्टीका अध्यक्ष महन्थ ठाकुरसमक्ष गरेको समाचार छ।
मधेशी लोकतान्त्रिक प्राध्यापक संघले पार्टीका अध्यक्ष ठाकुरसमक्ष मन्त्री कुशवाहका भाइ मदन कुशवाहले तमलोपाको नाममा घूस खाएर पार्टीलाई बदनाम गरेकाले उनलाई तत्काल हटाउन आग्रह गरेका छन्। मन्त्री कुशवाहका भाइ मदनले तमलोपालाई सहयोग गर्नुपर्छ भन्दै जिशिअ सरुवा गर्दा न्यूनतम् पाँच लाख र विभागका निर्देशकहरू सरुवा वा थमौती गर्दा १५ लाखका दरले घूस लिएको किटानी उजुरी पार्टी अध्यक्ष ठाकुरसमक्ष गरेका छन्।
शिक्षामन्त्री कुशवाहका भाइ त्रिचन्द्र क्याम्पसका जीव विज्ञानका उपप्राध्यापक मदन कुशवाहले तराईका जिल्लामा सरुवा हुने जिशिअहरूलाई ठाडै पाँच लाख माग्ने गरेको एक जिशिअले बताए। महोत्तरी, पर्सा, रौतहटलगायतका तराईका सबै जिल्ला शिक्षा अधिकारीहरूको सरुवामा मन्त्री कुशवाहका भाइ एवं मन्त्रीका स्वकीय सचिव मदनले पार्टीलाई सहयोग गर्नुपर्छ भन्दै पाँच लाखका दरले करिब चार करोड उठाएको काण्डले तमलोपा बदनाम भएको समेत संघले जनाएको छ। मन्त्रीका पीए मदनले खुलेआम तराई र आकर्षक जिल्लामा जान चाहने जिशिअहरूसँग पाँच लाख रकम अग्रिम दिनुपर्ने दररेट तोकेको तर सरकारको अनिश्चितताका कारण केही जिशिअ भने पाँच लाख तिर्न राजी नभएपछि त्यस्ता जिशिअलाई धमाधम सरुवा गर्दै रकम दिनेलाई खाली ठाउँमा पठाउन थालिएको छ। दशैंको मुखमा मन्त्रीका स्वकीय सचिवसमेत रहेका मदनले पर्साका जिशिअ रामविनय सिंहसँग पाँच लाख माग्दा नदिएपछि पर्सामा रामविनोद राय यादवलाई पठाइएको छ। त्यस्तै रौतहटमा राजेन्द्रप्रसाद ठाकुर, महोत्तरीमा रामवृक्ष साहलाई सरुवा गरिएको छ। तराईका अन्य जिल्लामा समेत यही तवरले सरुवा गरिएको समाचार छ। शिक्षामन्त्रीले अम्बिकाप्रसाद आचार्यलाई दुई महिनाभित्र तीन ठाउँमा सरुवा गरेका छन्। आचार्यलाई दुई महिनाको बीचमा गोरखा, सोलुखुम्बु र हाल लमजुङमा सरुवा गरिएको छ। मन्त्रालयको कर्मचारी प्रशासन शाखामा सरुवा भएका जिशिअहरूको सूची दिने कर्मचारीले 'दिनदिनै सरुवा हुन्छ, यो सूचीमा आज भएका भोलि नहुन सक्छन्' भन्नसमेत पछि परेनन्।
तमलोपालाई सहयोगको नाममा घूस असुल्ने मदनले शिक्षा मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयका प्रमुखहरूलाई समेत थमौती हुनका लागि १५ लाख मागेको रहस्य खुलेको छ। शिक्षा विभाग, अनौपचारिक शिक्षा केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र, पाठ्यक्रम, सीटीईभीटी, उच्च माध्यमिक शिक्षा परिषद्का प्रमुखहरूलाई स्वकीय सचिव मदनले १५ लाखको थैली बुझाउनू भने पनि उमावि शिक्षा परिषद् र सीटीईभीटीका प्रमुखले अटेर गरेपछि उनीहरूलाई नियमविपरीत मन्त्रालयमा तान्ने कामसमेत गरियो। परिषद्का उपाध्यक्ष कोइरालाले मन्त्री कुशवाहका भाइ मदनले १५ लाख रुपैयाँ घूस र उनका १२ कक्षामा असफल भएका छोरालाई सफल बनाउन दिएको निर्देशन नमानेपछि हटाएको रहस्य खोलिसकेका छन्। कोइरालाले जस्तै सीटीईभीटीका सदस्य सचिव जयबहादुर टण्डनले समेत मन्त्रीलाई घूस नदिएपछि मन्त्रालय तानिनेमा परेका थिए। तर अघिल्लो मन्त्रिपरिषद्लेे नियुक्त गरेका कोइराला र टण्डन अदालतबाट पुनर्बहाली भइसकेका छन्। साँघु