पाल्पा दोभान गाविस-५ झुम्सामा नेपालकै पहिलो वायोडिजेल प्रशोधन केन्द्र आइतबार देखि सञ्चालनमा आएको छ।नेपाल सरकार वातावरण विज्ञान तथा प्रबिधि मन्त्रालय अन्तरगतको जैविक इन्धन कार्यक्रमको अनुदानमा रेसुङ्गा मदाने जडिबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालिले उक्त वायोडिजेल प्रशोधन केन्द्रलाई सञ्चालनमा ल्याएको हो।
सजिवनको दानाबाट तेल उत्पादन गरि त्यसलाई बैकल्पिक इन्धनको रुपमा प्रयोग गर्ने उद्देश्यले प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको बताइएको छ। आइतबार प्रशोधन केन्द्रबारे जानकारि दिन दोभानमा आयोजित पत्रकार सम्मेलनमा सजिवनको तेलबाट इन्धन बनाउन सुरु गरिएको बताइएको थियो। सो अवसरमा सजिवनको दाना पेलेर तेल बनाएको देखाइएको थियो।
प्रशोधन केन्द्रको उद्घाटनमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका वातावरण विज्ञान तथा प्रबिधि मन्त्रालय अन्तरगतको जैविक इन्धन कार्यक्रमका प्रमुख नारायण अधिकारीले नेपालको बैकल्पिक उर्जाको क्षेत्रमा वायोडिजेल प्रशोधन केन्द्र सञ्चालनमा आउनु ठुलो उपलब्धि भएको बताए।
गतबर्ष देखि वायोडिजेलको क्षेत्रमा सरकारले हात हालेको र एक बर्षमै राम्रो उपलब्धि देखिएको अधिकारीले बताए। "तर यो परिक्षण अवधि भएकोले यसका सबल र कम्जोर पक्षको अध्ययन पुरा भैसकेको छैन।" उनले भने। अधिकारीले बैकल्पिक उर्जाको क्षेत्रमा गएको एक बर्षमा ७ करोड ८२ लाख सरकारले लगानि गरेको बताए।
नेपालमा यहि अर्थिक बर्ष भित्र पाँचवटा प्रशोधन केन्द्र खोल्ने लक्ष्य राखिए पनि मात्र २ वटा प्रशोधन केन्द्र सञ्चालन हुने अधिकारीले बताए। प्रयाप्त आधार तयार नभैसकेकोले ५ वटा बाट घटाएर २ वटा प्रशोधन केन्द्रका लागि मात्र सरकारले अनुदान दिएको उनको भनाइ थियो।
रेसुङ्गा मदाने जडिबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालिका प्रवन्धक मदन बिष्टले हालसम्म नर्शरी बिकास कार्यक्रम अन्तरगत २ लाख बिरुवा किसानलाई बितरण गरिएको बताए। पाल्पा, गुल्मी, नवलपरासी, स्याङ्जा, अर्घाखाँचि, कपिलवस्तु र काँस्कीका किसानलाई सजिवन खेति संबन्धि तालिम दिइ उनिहरुलाई खेति गर्न बिरुवा उपलब्ध गराइएको बिष्टले बताए।
वायो उर्जाको क्षेत्रमा काम गर्दै आएका नेपाल र भारतका बिज्ञहरुको समेत सो अवसरमा उपस्थिति रहेको थियो।
सजिवनको दानालाई पेलेर त्यसबाट निस्कने तेललाई प्रशोधन गरि मट्टितेल, डिजेल र पेट्रोलको रुपमा प्रयोग गर्न सकिने बताइएको छ।
गतबर्ष पाल्पाका केशब कार्कीले सजिवनको दानाबाट बनाएको तेलबाट गाडि चलाएर मन्त्रि समेतलाई सवार गराएर चर्चामा आएका थिए।
नागरिक दैनिक