मोहन कार्की
धेरै नेपाली तथा विदेसीका लागि नेपाल ''माउन्ट एभरेष्ट''को देश वा गौतम बुद्ध जन्मेको देश भन्दा केही पनि होइन । यही दुइटा उपमा बाहेक देखाउने अरु चीजनै छैन भन्ने हिनताबोध पनि छ कतिमा । धुलो धुँवा र गरिबी त नेपालको परिचय नै बनेको छ । तर पनि विदेशीहरु गएकै छन् । नेपाललाई माया गरेकै छन् । कम्तिमा माया गरेका छौं भनेकै छन् । अनि नेपालका राम्रा नराम्रा पक्षहरु विश्वभरि पुर्याएकै छन् । यस्तैक्रममा नेपाललाई माया गर्ने एक कोरियाली पर्यटक थपिएकी छिनऽ प्राध्यापक यु जङ्ग ई । तर उन्ले खोजेको र भेटेको नेपाल फरक छ । उनी अन्य कुराको अलावा नेपालमा स्तरीय साहित्य र संस्कृति पनि छ भन्छिन र त्यसलाई कोरियसँग आदान प्रदान गर्ने उद्धेश्य राखेर सकृय छिन् ।
१९६३मा छुङ्गनामको छनानमा जन्मेकी यु जङ्ग ईले आधुनिक कोरियन कवितामा विद्यावारिधी गरेकी छिन् र विश्वविद्यालयमा पनि कवितानै पढाउछिन आफुले पनि कविता लेखी समसामयिक कोरियनहरुबीच आफुलाई उभ्याएकी छिन् । बाल साहित्य लेखनमा पनि उनी त्यत्तिकै सकृय छिन् । भर्खरै मात्र कोरियाली साहित्यिक पत्रिका मुनाहकसनको वर्षाद अंकमा नेपाली काव्य विशेषांक निकाल्न सक्रिय यु जङ्ग ई गत महिना फेरि नेपाल पुगिन् । साथमा १३ जना विद्यालय स्तरका विद्यार्थीहरु लिएर । ती विद्यार्थीहरुले नेपालमा एक महिना भन्दा बढी बसी धेरै कुरा सिके । नेपाली विद्यार्थीहरु माझ कोरियाली संस्कृति प्रस्तुतिहरु गरे । उनीहरुले काठ्मान्डु पोखरा झापा इलाम नुवाकोट लगायतका जिल्लाहरुमा शैक्षिक भ्रमण पनि गरे । यो भ्रमण व्यवस्थापन गर्न नेपाली साहित्यकार कवि कृष्ण प्रसाईंले सहयोग गरेका हुन ।
यु जङ्ग ईले विद्यार्थीहरुलाई भ्रमण गराउँदा गराउँदै नेपाल कोरिया बाल साहित्य आदान प्रदान सम्बन्धी केही गृहकार्य पनि सिध्याइन् । कोरियामा अनुवादित बालसाहित्य असाध्यै लोकप्रिय भएको र विशेषतः अंग्रेजी जापानी र चिनिया भाषाको अनुवादित बालसाहित्यको सन्दर्भमा नेपाली बालसाहित्य पनि त्यतिकै स्तरीय भएको ठहर गरी उन्ले केही नेपाली बालकृतिलाई कोरियन भाषामा प्रकाशित गर्ने तयारी गरेकी छिन् । उनी आफै पनि बाल साहित्य सर्जक भएकोले उन्को ''अब यो रहस्य रहेन'' भन्ने बालकथा संग्रह प्रकाशक विजय आचार्यले प्रकाशन गर्ने भएका छन् । अनुवादक रामचन्द्र गिरी, रिता थापा र मोहन कार्कीले यो पुष्तक नेपालीमा अनुवाद गरेका हुन । कोरियन भाषाको मर्म र अभिव्यक्तिको परिवेश विदेशी भाषामा उतार्न असाध्यै गारो हुन्छ ।
नेपाली र कोरियन भाषा बीचमा साहित्यिक आदान प्रदान गर्दा पनि यो समस्या नआउला भन्न सिकंदैन । तर यु जङ्ग ई र अन्य नेपाली यु जङ्ग ईहरुले यो कुरालाई राम्ररी बुझेका देखिन्छन् र कार्यको गम्भिरता र स्तरीयतामा ध्यान पुर्याएका छन् । अनि नेपाल र कोरियाको बीचमा एक आपसमा साटासाट गर्न सकिने कुरा हरु नेपाली श्रमिक वा कोरियन कम्बल र इलेक्ट मात्र होइन वौद्धिक सामग्रीहरु पनि प्रसस्त छन् भनी प्रमाणित गरिदिएका छन् ।
गत हप्ता मात्र नेपालको डेढ महिने बसाइपछि कोरिया फर्किएकी कवयत्री यु जङ्ग ईसँग यो पत्रकारले छोटो कुराकानी गरेको थियो ।विनोदमय शैलीमा कुरा गर्ने कवयत्री यु जङ्ग ईले यसो भन्दै कुरा शुरु गरिन । गत हप्तामात्र यसो कोरिया घुमौंभनेर नेपालबाट आएको ।
प्रश्नः नेपाल घुमेर आउनुभएको रहेछ सबैभन्दा रमाइलो कुरा के देख्नुभयो ?
मैले नेपालीहरु सबै मिजासिलो पाएँ । प्रतिकुल राजनीतिक वातावरणले अशान्ति भए पनि नेपालीहरुकॊ मनस्थिति स्वस्थ्य भएको राम्रो लाग्यो । म वर्षालाई मन पराउने स्वभावको भएकोले पानी परेको हेर्ने मन भए पनि राति पानी पर्ने अनि दिउँसो चाँहि टण्टलापुर घाम लाग्नाले दिक्क लाग्यो । तर राति पानी परेर दिउँसोचाहिँ सफा भएको आकाशको दृष्य असाध्यै रमाइलो लाग्यो ।
प्रश्नः विद्यार्थीहरुसँग शैक्षिक भ्रमण गरेर धेरै विद्यालयहरु पनि घुम्नुभयो नेपाल र कोरियाको विद्यालय बीचमा के फरक भेट्टाउनु भयो ?
नेपाली विद्यार्थीहरु धेरै स्वस्फुर्त रहेछन् । कोरियाका प्राय विद्यार्थीहरु अरुले परिचालन गर्नुपर्ने र लज्जालु स्वभावका हुन्छन् । नेपाली शिक्षकहरु पनि अलि कडा र विद्यार्थीलाई अख्तियार प्रयोग गर्ने खालका हुँदा रहेछन् त्यसको तुलनामा कोरियाका शिक्षक हरु कम कडा छन् र गुरु विद्यार्थीको सम्बन्ध पनि अलि स्वतन्त्र छ । नेपालका विद्यार्थीहरु आपुनो कक्षा सिध्याएर आए पछि आमाबाबुको कामलाई सघाउने असाध्यै राम्रो पक्ष छ । यो देखेर मसँग घुम्न गएका कोरियन विद्यार्थीहरु छक्क परे।कोरियाका विद्यार्थीहरु विद्यालयको कक्षा सिध्यिए पछि पनि ट्युसन अथवा अन्य अतिरिक्त कृयाकलापमा व्यस्त भइहाल्छन् ।
प्रश्नः सबै भन्दा मन नपर्ने कुरा चाहिँ के लाग्यो ?
गाडीहरुले जथाभावी ट्याँट्याँ र टुँ टुँ गरेर बजाउने हर्न भने सारै दिक्क लाग्यो । मोटर साइकल, कार बस लरी सबैलेनै ट्याँट्याँ र टुँ टुँ कोहाहल मच्चिएको जस्तो अनुभव भयो ।धुलो पनि ज्यादैनै छ ।
प्रश्नः यस्ता भ्रमणहरु आगामी दिनहरुमा पनि गर्नुहुन्छ कि ?
अवश्यनै । कोरियामा शैक्षिक विदा भएको मौका पारी विश्वविद्यालयका विद्यार्थीहरुलाई घुमाउने विचार पनि छ । अझ भ्रमण साथसाथै केही परोपकारका कार्यक्रम लाने पनि विचार छ । साथै डाक्टर नस्रहरुलाई लिएर गई उपचार क्याम्प चलाउने बारेमा पनि सोचिरहेको छु ।
प्रश्नः अन्तमा भन्न मन लागेका केही कुराहरु छन् कि ?
नेपालीसँगको सम्बन्ध असाध्यै महत्वपूर्ण ठानेको छु । मॆरो आफ्नो ठाउँबाट सकेसम्म आपसमा सहयोग आदान प्रदान गर्न चाहेको छु । नेपाल र कोरिया बीचमा बढी भन्दा बढी साहित्य कला संस्कृतिको आदान प्रदान भएमा राम्रो हुने थियो । अन्तमा सबै नेपालीलाई नमस्ते ।