रन्कोमा छ गाउँ-सहर । हिन्दुधर्मावलम्बी महिलाको पर्व मानिन्छ तिज । के यो साँच्चै महिलाकै पर्व हो त ? यसको अन्तर्यमा महिला-मुक्तिको सन्देश छ त ?
पितृसत्तात्मक सामन्ती समाजमा अधिकारबाट वञ्चित छन् महिला । उनीहरूले परिवार र परिवारको खुसीमा सम्पूर्ण जीवन गुमनाम बिताइरहेका हुन्छन् । तिज तिनकै चाड भनिए पनि यो पर्व पुरुषकै लागि मनाइन्छ । श्रीमान्को दीघार्युका लागि निराहार व्रत बस्न अघिल्लो मध्यरातसम्म महिलाहरू मीठा परिकार खान्छन् । व्रत बस्दा दिन काट्न कोही सासू, नन्द र आमाजुका दुव्र्यवहारबारे गीत गाउँछन् । कतिपय दिदी-बहिनी श्रीमान्प्रति प्रेम दर्शाउन व्रत बसेको दाबी गर्छन् । कति अबोध छन् उनीहरू ! पुरुषले श्रीमतीप्रति प्रेम दर्शाउने कुनै पर्वको व्यवस्था छैन भन्ने कुरा उनीहरूलाई थाहै छैन । आखिर यी सबै धार्मिक कलेवरमा महिलालाई मनोवैज्ञानिक र शारीरिक शोषण गर्ने आधार मात्रै हुन् । तिजमा यस्तै धार्मिक परम्परालाई आधार बनाएर महिलालाई मानसिक शोषण
गरिन्छ र अधिकारप्राप्तिका लागि सोच्ने दिमागलाई कुण्ठित पारिन्छ ।
तिजको दिनलाई आपmनै ठानेर नाचगानमा श्रीमान्कै दोहोलो काढे पनि भोलिपल्ट फेरि महिलाहरू उनीहरूकै पाउमा पर्नुपर्ने स्थिति छ । दिनरात घरधन्दामा जोतिने महिलाको श्रमको कुनै मूल्य छैन । सम्पूर्ण घरायसी जिम्मेवारी बोकेर पनि परिवारलाई कसरी खुसी पार्ने भन्ने ध्याउन्नमा हुन्छन् उनीहरू । तर, घरको आर्थिक उपार्जनको स्रोत र परिवारको शक्तिकेन्द्र भने श्रीमान् नै हुन्छन् । घरधन्दामा बढुवा, तलब-भत्ता, निवृत्तिभरणजस्ता कुनै पनि सुविधा किन नभएका भनेर उनीहरू प्रश्न गर्दैनन् । तर, कार्यालयमा त्योभन्दा कम समय र कम काम गर्ने पुरुषले यी सबै सुविधा पाउँछन् । घरधन्दा त कस्तो बाध्यात्मक छ भने महिलाको जीवन नै समाप्त नहुन्जेल गोरुभन्दा बेसी जोतिइरहनुपर्छ । यसमा न छुट्टीको व्यवस्था छ, न तलब र अन्य सुविधाको । यो त समाजको आँखामा कहिल्यै नपर्ने गुमनाम श्रम हो, जसको मूल्यको खोजी गर्नु महिलाको प्रथम दायित्व हो ।
तिजको अन्तिम दिन ऋषिपञ्चमीमा ऋषिको पूजा गरिन्छ । वर्षभरिमा महिनावारी भएका वेला 'अपवित्र' काम भएका भए, नछुनुपर्ने भनिएका चिज वा ठाउँ छोइएका भए त्यस्तो पाप पखाल्न पूजा गर्ने धार्मिक मान्यता छ । महिनावारी हुनु महिलाहरू बच्चा जन्माउन सक्षम हुनु हो । तर, हिन्दुधर्मशास्त्रले त्यसलाई पाप ठान्छ । र, यसैकारण महिला पापी हुन् भन्ने बोध गराउन पूजा गर्न लगाइन्छ । के सृष्टि गर्न क्षमतावान् हुनु पापी हुनु हो ?
महिलाका लागि तिज परम्परागत संस्कारको एक रुढि मात्र हो । कतिपय प्रगतिशील बुज्रुक र संघ-संगठन तिज पर्व भनेको महिला स्वतन्त्रताको चाड भनी भ्रामक प्रचार गर्छन् । तर, धार्मिक कलेवरमा तिजले महिलालाई बन्धनमा राखेको यथार्थ कतैबाट पनि लुकेको छैन । सबैसँग भेटघाट भएर मीठो-मसीनो खाँदैमा, तिजेभाकामा मुक्तिको लोकगीत गाउँदैमा यस पर्वमा अन्तर्निहित रुढिको अन्त्य भएको मान्न सकिँदैन । जुन धर्मको निर्वाह नगरे श्रीमान्को प्यारो नभइने वा उसको आयुको ख्याल नगर्ने अधर्मी श्रीमतीका रूपमा महिला चित्रित हुन्छे, त्यस धर्मले घुमाइफिराई महिलालाई दासताभित्रै जकडिइरहन बल पुर्याउने नै हो ।
अहिले सहरमा एकातिर सामूहिक दर खुवाउने प्रतिस्पर्धा चलेको छ । यसले सम्पन्नता प्रदर्शन गर्ने प्रचलनलाई बढावा दिएको छ । सम्पन्न महिलाहरूले गरगहना र धनसम्पत्तिको माध्यमबाट आडम्बर प्रदर्शन गर्ने मौकाका रूपमा पनि तिजलाई लिन थालेका छन् । यसले समाजमा विकृतिको भण्डारलाई बढाएको छ । अर्काेतिर, तिजमा सचेत र परिवर्तनमुखी महिला र संगठनहरूले जागरण र विद्रोहका स्वर उराल्ने गरेका छन् । समाज रूपान्तरणका लागि तिजको उपयोग गर्न त सकिन्छ र यस्ता अवसर चुक्नु पनि हुन्न नै । तर, श्रमिक दिवस र नारी दिवसजस्ता नारी मुक्तिसूग जोडिएका वैज्ञानिक पर्वलाई कम महत्त्व दिने र तिजजस्ता धार्मिक पर्वको बढाइचढाइ गर्ने प्रवृत्ति आफूलाई परिवर्तनकामी भन्ने संगठनका लागि आत्मघाती हुनेछ । तिजलाई रूपान्तरण गर्ने नाममा यसका धार्मिक मान्यतालाई अनुसरण गर्दै जाने हो भने परिवर्तनका संवाहक संगठन आफैँ तिजअनुकूल फेरिने खतरा छ ।