कलात्मक रुपमा बनाइएको नेपाली प्याभिलियन अहिले दक्षिण कोरियामा आकर्षणको केन्द्रबिन्दु बनेको छ। कोरियाको इन्छन महानगरपालिकाले आयोजना गरेको ग्लोवल फेयर एण्ड फेस्टिभल २००९ मा सहभागी हजारौ व्यक्तिहरु उक्त प्याभिलियन र त्यसको आगनमा राखिएको चैत्य तथा अन्य मूर्तीवारे जिज्ञासा राखिरहेका छन। अगष्ट १५ तारिक आइतवारको दिन त कोरियाको आरिराङ टेलिभिजनले उक्त प्याभिलियनमा आफ्नो कार्यक्रम नै सुटिङ गर्यो।
गत अगष्ट ७ तारिकमा शुरु भइ ८० दिनसम्म चल्ने यो फेस्टिभलमा विश्वका करीव १ सय ३५ ठूला शहरहरुको सहभागिता छ। नेपाली प्रदर्शनीको जिम्मेवारी नेपालीयाना लिमिटेडले पाएको छ। नेपालीयानाकै अनुरोधमा गंगा क्राफ्ट इन्टरनेसनलले यो प्याभिलियन बनाएको हो। उक्त कम्पनीका प्रबन्ध निर्देसक जीवन रत्न शाक्यका अनुसार यो प्याभिलियन बनाउन करीव २ वर्ष समय लागेको छ। यता कोरियामा फिट गर्न मात्रै पनि २ हप्ताभन्दा बढी समय लागेको उनले बताए ।
नेपालीयानाका प्रमुख तेन्जी शेर्पाका अनुसार नेपाली प्रदर्शनीले प्रसंसा पाएको छ। त्यसो त आयोजक इन्छन महानगरपालिका प्रमुखले पनि नेपाली प्याभिलियन अति उत्कृष्ट भएको टिप्पणी गरेका थिए। प्याभिलियनको खर्च अध्याधिक भएकाले उनीहरुले फेस्टिभल हाताभित्रै रेष्टुरा पनि चलाएका छन। त्यसोत नेपाली सोभिनियर सप पनि राखिएको छ। ८० दिने कार्यक्रमा एक दिन नेपाल डे भनेर पनि छुट्याइएको छ। आगामी सेप्टेम्वर २० तारिकका दिन यहाँ रहेका नेपालीहरु र नेपाललाइ माया गर्ने कोरियालीहरु समेत सहभागी हुने र विभिन्न साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिने उनले जनाएका छन।